Latest Movie :

चलचित्र बजारमा चलचित्रको भन्दा गीतको चर्चा (भिडियो सहित )

‘देखाइदिन्छु सबै कुरा पैसा तिरेपछि , जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति
गाला मेरो फुटेको छैन अलिकति चर्को हो साथी, आँखा झिमिक्कै माल सामान गायब…’

हुन त यो चलचित्र ‘लक’को गीत हो । तर, चलचित्रको नामभन्दा पनि यो गीतले चर्चा पायो बजारमा । चलचित्र चलेर उत्रिसक्दा पनि यो गीतले गरम बनाएको बजार अझै सेलाएको छैन । यता थुप्रै सिनेमा खेल्दा पनि चर्चा कमाउन नसक्ने अनि नाम पनि त्यति बजारमा ल्याउन नसक्ने कलाकारहरूलाई पनि प्रस्तुत ‘आइटम डान्स’मा डान्स गर्ने सम्झना प्याकुरेल उदाहरण नै बनिन् । उनी यही एउटा गीतबाट चर्चामा आएकी छिन् यतिबेला ।

जब यो गीत विभिन्न टेलिभिजन च्यानलहरूमा प्रतिबन्ध भयो तब यो गीतप्रति चासो राख्नेहरूको सङ्ख्या बढेपछि निर्देशक ऋषि न्यौपानेले चलचित्र ‘लक’को रिलिज पनि गरिहाले । ‘हामीले दर्शकहरूको भावना बुझेर नै रिलिज गर्‍यौँ चाँडो । चलचित्रले परिणाम पनि राम्रै निकाल्यो,’ निर्देशक न्यौपाने भन्छन् । एउटै गीतबाट चर्चामा आएकोमा सम्झना पनि धेरै खुशी छिन। तर, यो गीतलाई विभिन्न कोणबाट हेरिदिएर गलत अर्थ लगाउनेहरूप्रति पनि उनको चित्त दुखाइ छ । उनले भनिन्, ‘हामीले शब्दलाई साङ्केतिक रूपले प्रस्तुत गरेका छौँ । तर व्याख्या भने सीधै गरियो । म बारमा डान्स गर्ने युवती हुँ । त्यहाँ खलनायकहरूले सामान लुकाएका हुन्छन् र त्यो सामान मैले देखेकी हुन्छु । सबै कुरा देखाइदिन्छु पैसा तिरेपछि भनेर प्रहरीलाई गीतमार्फत जानकारी दिन खोजिएको छ । यहाँ त शरीर देखाउने कुरा पो आयो,’ उनले बेलिविस्तार लगाइन् ।

सुरुमा त सम्झनाले पनि सोचेकी थिइनन् कि यो गीतले यस्तो हंगामा गर्ला भनेर । ‘नसोचेको भयो,’ उनी दङ्ग पनि छिन् । तर, बजारमा हिँड्दा दर्शकले ‘पैसा तिरेपछि सबै कुरा देखाइदिने हो…’ भनेर जिस्क्याउँदा भने उनको चित्त दु:खेको रहेछ । उनले भनिन्, ‘यो आइटम गीतमा नाचेपछि चर्चा त पाइयो तर पछिसम्म गलत छाप पर्ला कि भन्ने चिन्ता भने लागेको छ । म दर्शकहरूलाई मैले नाचेको गीतलाई गलत अर्थले नबुझिदिन अनुरोध गर्दछु ।’ कलाकार भएपछि हरेक भूमिकामा सहज प्रस्तुत हुन सक्नुपर्छ भन्ने मान्यता उनको छ । सम्झनाले थपिन्, ‘अब भने म आइटम तिर भन्दा पनि नायिकाको भूमिकातिरै बढी जोड दिन्छु । आइटमले छोटो समयमा नै चर्चा त पाउँछ तर त्यो दिगो हुँदैन रहेछ ।’

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. HamroHDVideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger